सचिवको सन्देश

सचिवको प्रतिवेदन

पदम नारायण त्रिपाठी

यस डिलाईट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सचिवको रुपमा १६औं साधारण सभामा आफ्नो मन्तव्य प्रस्तुत गर्न पाउँदा गौरवान्वित महसुस गर्दैछु । सहकारी संस्थाको संस्थागत विकास र सुदृढीकरणको लागि सक्षम योग्य र उच्च नैतिकवान् नेतृत्व, अनुभवी र क्षमतावान व्यवस्थापन एवं बित्तिय अनुशासित सदस्यहरूको अतिनै आवश्यकता रहन्छ । जुन कुरा हाम्रो यस संस्थाको सबल पक्षको रुपमा रहेको छ । यो अवस्था सम्म आईपुग्न भुमिका खेल्नु हुने सबैलाई हार्दिक आभार व्यक्त गर्दछु । बचत तथा ऋण सहकारी संस्थाको मुल मर्म र सहकारीका अन्तराष्ट्रिय मुल्य मान्यतालाई आत्मसाथ गर्दै यस संस्थाले आफ्नो सेवाहरू प्रवाह गरिरहेको छ । सदस्यहरूको आर्थिक सामाजिक तथा साँस्कृतिक विकासका लागि बचत तथा ऋण परिचालनका माध्यामबाट सदस्यहरूलाई सेवा दिईरहेको यस सहकारी संस्थाले अन्य सामाजिक गतिविधीहरू पनि संचालन गर्दै आईरहेको छ ।

बचतको महत्व

हाम्रो सहकारीको आधार भनेको हाम्रा सदस्यहरूको बचत हो । यस सहकारीलाई सफलतापूर्वक सञ्चालन गर्ने र सबैको भविष्य सुरक्षित राख्ने माध्यम भनेकै अधिक बचत संकलन हो । त्यसैले, म हाम्रा सबै सदस्यहरूलाई अनुरोध गर्न चाहन्छु कि नियमित रूपमा बचत बढाउन प्रेरित हुनुहोस् । व्यक्तिगत बचत भनेको मात्र रकम जम्मा गर्ने कुरा होइन, यो तपाईंको आर्थिक सुरक्षाको आधार पनि हो । तपाईँहरूको बचतले मात्रै हाम्रो सहकारीको भविष्यलाई सुदृढ बनाउनेछ ।

कर्जाको जिम्मेवारीपूर्ण सदुपयोग

कर्जा लिँदा हामीले ध्यान दिनुपर्ने एउटा महत्वपूर्ण कुरा भनेको सही स्थानमा लगानी गर्नु हो । सहकारीले दिएको कर्जाको सदुपयोग गरेमा मात्र यसले तपाईंको आर्थिक उन्नति र सहकारीको लाभलाई सुनिश्चित गर्न सक्छ । त्यसैले म तपाईंहरूलाई आग्रह गर्दछु कि कर्जा प्रयोग गर्दा सोचविचार गरी, सही उद्देश्यका लागि मात्र लगानी गर्नुहोस् । यसले तपाईंलाई लाभ त दिनेछ नै, सहकारीको स्थायित्व पनि सुनिश्चित हुनेछ ।

समयमा कर्जा तिर्ने जिम्मेवारी

हामीले सहकारीबाट लिएको कर्जा समयमा फिर्ता गर्नु हाम्रो नैतिक र कानुनी जिम्मेवारी हो । समयमा कर्जा नफर्काउँदा सहकारीले अरू सदस्यहरूको सेवामा समस्या आउन सक्छ, त्यसैले सबैले आफ्नो कर्जा बुझाउन पन्छिनु हुँदैन । आफ्नो प्रतिवद्धता पूरा गर्न सहयोग गर्नुहोस् ताकि सहकारीले दीर्घकालीन रूपमा सेवामा निरन्तरता दिन सकोस् ।

१. संस्थागत सुदृढीकरण

सहकारीको दीर्घकालीन सुदृढीकरणका लागि सदस्यहरूको संख्या वृद्धिदेखि कर्मचारीहरूको दक्षता अभिवृद्धिसम्मका विभिन्न पहलहरू आवश्यक छन् ।

सदस्य संख्या विस्तारः संस्थाको सदस्यता विस्तार हाम्रो प्राथमिक कार्य हो । सहकारीको सिद्धान्त, सेवा, र लाभलाई बढीभन्दा बढी जनसमुदायमा पु¥याउने लक्ष्य राख्दैछौं । यसका लागि प्रचार–प्रसार, जनचेतना कार्यक्रमहरू, र वित्तीय साक्षरताका कार्यक्रमहरूको आयोजना गरिनेछ ।

कर्मचारी दक्षता विकासः हाम्रा कर्मचारीहरूलाई सहकारी सिद्धान्त, वित्तीय व्यवस्थापन र नेतृत्व विकासमा प्रशिक्षित गर्ने योजना छ । दक्ष कर्मचारीले सहकारीलाई अझ व्यवस्थित, सेवा उन्मुख, र पारदर्शी बनाउनेछ ।

संस्थागत सुधार योजनाः आन्तरिक व्यवस्थापनमा सुधार गर्न र पारदर्शितालाई बढावा दिन संस्थागत नियम, नीति, आन्तरिक कार्यविधी तथा प्रक्रिया पुनरावलोकन गरिनेछ ।

२. वित्तीय व्यवस्थापन

सहकारीको वित्तीय व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन हामीले आधुनिक प्रविधिको प्रयोग गर्ने र वित्तीय योजनाहरूको विकास गर्नेछौं ।

आधुनिक प्रविधिको प्रयोगः सहकारीमा डिजिटलाइजेशनको आवश्यकता अत्यावश्यक छ । कम्प्युटराइज्ड प्रणाली तथा सफ्टवेयरमार्फत सहकारीको लेखापरीक्षण, बचत तथा ऋण व्यवस्थापनलाई पारदर्शी र छिटो बनाउनेछौं ।

नयाँ वित्तीय योजनाहरूको विकासः दीर्घकालीन बचत योजना, बाल बचत, शैक्षिक बचत योजना जस्ता योजना सुरू गर्नेछौं जसले सदस्यहरूको भविष्यलाई आर्थिक सुरक्षा दिनेछ ।

ऋण प्रवाह सुधारः ऋण प्रवाहलाई पारदर्शी बनाउँदै छिटो र सुरक्षित बनाउनेछौं । ऋणको पुनरावलोकन, कर्जा दायित्व मूल्यांकन, र जोखिम व्यवस्थापनलाई प्राथमिकतामा राखिनेछ ।

३. सदस्य सेवामा सुधार

सदस्यहरूलाई प्रदान गरिने सेवामा सुधार गर्दै थप सुविधाजनक र लाभकारी बनाउने हाम्रो योजना छ ।

सदस्य लाभ कार्यक्रमहरूः सदस्यहरूको जीवनस्तर उकास्न र आत्मनिर्भर बनाउने उद्देश्यले विभिन्न व्यावसायिक तालिम, बीमा सेवा, उद्यमशिलता विकास तालिमहरू सञ्चालन गरिनेछन्।

सदस्यहरूका लागि नयाँ सेवा योजनाः सदस्यहरूका आवश्यकतालाई ध्यानमा राखेर नयाँ वित्तीय तथा सामाजिक सेवाहरूलाई निरन्तर अपडेट गर्दै अगाडि बढ्नेछौं।

४. सूचना प्रवाह र सञ्चार सुधार

सदस्यहरूसँगको सम्पर्कलाई अझ सरल र सहज बनाउने उद्देश्यले सूचना प्रवाह र सञ्चार सुधारमा हामीले काम गर्नेछौं ।

सूचना प्रणाली सुधारः सूचना तथा सञ्चार प्रविधिको व्यापक प्रयोग गरी, सदस्यहरूले मोबाइल एप्स, एसएमएस, फेशवुक र वेबसाइट मार्फत आवश्यक जानकारी सजिलै प्राप्त गर्न सक्ने सुविधा प्रदान गरिनेछ ।

रिपोर्टिङ प्रणालीलाई व्यवस्थित गर्नेः सहकारीका गतिविधिहरू, वित्तीय विवरणहरू, र योजना कार्यान्वयनबारे नियमित रिपोर्टिङ गरिनेछ । यसले संस्थाको पारदर्शितालाई अझ बलियो बनाउनेछ ।

५. सामाजिक उत्तरदायित्व

सहकारीको सामाजिक उत्तरदायित्वलाई ध्यानमा राखेर समाज कल्याणका विभिन्न कार्यक्रमहरू सञ्चालन गरिनेछन् ।

समुदायमूलक कार्यक्रमहरूः रक्तदान, स्वास्थ्य शिविर, ज्येष्ठ नागरिक धार्मिक भ्रमण, सहकारी शैक्षिक भ्रमण, विपन्न वर्गलाई सहयोग जस्ता अन्य विविध समाजिक कार्यक्रमहरू सहकारीको तर्फबाट सञ्चालन गरिनेछ । यसले सहकारीलाई सामाजिक योगदानको आधारमा सम्मानित बनाउनेछ ।

सहकारी मूल्य र संस्कार प्रवर्द्धनः सहकारी मूल्य र सिद्धान्तहरूलाई सदस्य र समुदायमा फैलाउन विभिन्न चेतनामूलक कार्यक्रमहरूको आयोजना गर्ने योजना छ ।

६. दीर्घकालीन विकास

हाम्रो सहकारीको दीर्घकालीन विकासका लागि हामीले स्थायी सम्पत्ति आर्जन गर्ने र दीर्घकालीन रणनीतिक योजना निर्माण गर्नेछौं ।

स्थायी सम्पत्ति विकासः सहकारीको दीर्घकालीन वित्तीय सुदृढीकरणका लागि संस्थाको नाममा रहेको जग्गामा भवन निर्माण गर्ने योजना बनाइएको छ ।

दीर्घकालीन रणनीतिक योजनाः आगामी ५ देखि १० वर्षभित्र सहकारीलाई राष्ट्रिय स्तरमा मान्यता दिलाउने योजना सहित दीर्घकालीन रणनीतिक योजना निर्माण गरिनेछ ।

७. नियमन र मूल्यांकन

नियमित समीक्षाः सहकारीका हरेक गतिविधि, योजना कार्यान्वयन, तथा वित्तीय व्यवस्थापनलाई नियमितरूपमा समीक्षा गरी सुधार गर्नेछौं ।

अन्तमा,

उपरोक्त कार्ययोजना र लक्षहरू सहकारीको सुदृढीकरण, वित्तीय विकास, तथा सामाजिक योगदानका लागि निर्धारण गरिएका हुन् । यसले डिलाईट बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई आगामी दिनमा अझ मजबुत, दिगो, र सदस्यमुखी संस्था बनाउन मद्दत गर्नेछ। सदस्यहरूको सहयोग र सहभागिता नै हाम्रो सफलताको आधार हो, त्यसैले आगामी दिनहरूमा पनि यहाँहरूको साथ र सहयोगको अपेक्षा गर्दछु।

यस संस्थाको विकास र उन्नतिमा निरन्तर लागिपर्ने प्रतिबद्धतासहित, सबै सदस्यहरूलाई धन्यवाद व्यक्त गर्दछु।

!!! जय सहकारी !!!

!!! जय डिलाईट !!!